कानूनी आधारशीला

Box1 Kanuni Aadharsila

राष्ट्रिय प्राणी उद्यान संचालनको कानूनी आधारशीला 
राष्ट्रिय प्राणी उद्यान केन्द्र सञ्चालन निर्देशिका २०७२
नेपाल सरकार (मा.मन्त्रिस्तर) बाट स्वीकृत मिति २०७२।४।२०

भक्तपुर जिल्लाको २४५.१६५ हेक्टर वन क्षेत्रमा राष्ट्रिय प्राणी उद्यान स्थापना गर्ने, उक्त राष्ट्रिय प्राणी उद्यान स्थापनार्थ सम्पूर्ण व्यवस्था मिलाउन वन तथा भू–संरक्षण मन्त्रालयलाई निर्देशन दिने, राष्ट्रिय प्राणी उद्यान स्थापनाको लागि आवश्यक रकमको व्यवस्था अर्थ मन्त्रालयले गर्ने, नेपालको अन्य स्थानमा पनि यस प्रकारका राष्ट्रिय प्राणी उद्यानहरुको आवश्यकता र सम्भाव्यताको आधारमा स्थापना गर्ने कार्य अगाडि बढाउन वन तथा भू–संरक्षण मन्त्रालयलाई निर्देशन दिने भनी नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७१/१०/२९ मा भएको निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा उक्त केन्द्र संचालनको लागि निर्देशिका बनाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता भएको हुँदा नेपाल सरकार (मा. मन्त्रीस्तर) को मिति २०७२४/२० को निर्णयानुसार यो निर्देशिका बनाई लागू गरिएको छ ।
१.संक्षिप्त नाम र प्रारम्भः ः (१) यस निर्देशिकाको नाम “राष्ट्रिय प्राणी उद्यान केन्द्र सञ्चालन निर्देशिका, २०७२” रहेको छ ।
(२)यो निर्देशिका तुरुन्त प्रारम्भ हुनेछ ।
२.परिभाषा ः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,
(क) “अध्यक्ष” भन्नाले निर्देशन समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “राष्ट्रिय प्राणी उद्यान” भन्नाले संरक्षण शिक्षा, मनोरञ्जन, प्रजनन्, वंशाणु श्रोतको संरक्षण, अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले जीवजन्तुहरु परस्थानमा प्रदर्शनीमा राखी व्यवस्थापन गरिएको स्थान वा अन्तरराष्ट्रिय प्रचलन अनुसार स्थापना गरिने प्राणी उद्यान (नेसनल जुलोजिकल गार्डेन) लाई सम्झनु पर्छ ।
(ग) “मन्त्रालय” भन्नाले वन तथा भू–संरक्षण मन्त्रालय सम्झनु पर्छ ।
(घ) “विभाग” भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग सम्झनु पर्छ ।
(ङ) “सदस्य” भन्नाले निर्देशन समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले निर्देशन समितिको अध्यक्ष समेतलाई जनाउँछ ।
(च) “सदस्य सचिव” भन्नाले निर्देशन समितिको सदस्य सचिव सम्झनु पर्छ ।
(छ) “केन्द्र” भन्नाले दफा ३ बमोजिम तोकिएको राष्ट्रिय प्र्राणी उद्यान केन्द्र सम्झनु पर्छ ।
(ज) “निर्देशन समिति” भन्नाले दफा ४ बमोजिमको राष्ट्रिय प्राणी उद्यान केन्द्र संचालन निर्देशन समिति सम्झनु पर्छ
३.राष्ट्रिय प्राणी उद्यान केन्द्र ः (१) मन्त्रिपरिषद्को मिति २०७१।१०।२९ को निर्णयानुसार राष्ट्रिय प्राणी उद्यान स्थापना तथा संचालन गर्नको लागि सचिवालयको रुपमा काम गर्न राष्ट्रिय प्राणी उद्यान केन्द्र तोकिने छ ।
(२) उपदफा (१) बमोजिम तोकिएको केन्द्र रहने स्थानको निर्धारण निर्देशन समितिको निर्णय बमोजिम हुनेछ ।
४. निर्देशन समिति ः राष्ट्रिय प्राणी उद्यान स्थापना एवं सञ्चालन गर्नको लागि नीति निर्माण, योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, समन्वय तथा अनुगमन गर्ने उद्देश्यले देहायबमोजिमको “राष्ट्रिय प्राणी उद्यान केन्द्र संचालन निर्देशन समिति” रहनेछ ः–
(क)सचिव, वन तथा भू–संरक्षण मन्त्रालय, –अध्यक्ष
(ख) महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग –सदस्य
(ग)सहसचिव, अर्थ मन्त्रालय – सदस्य
(घ)महानिर्देशक, वन विभाग – सदस्य
(ङ)महानिर्देशक, वनस्पति विभाग –सदस्य
(च)महानिर्देशक, पशु सेवा विभाग –सदस्य
(छ)निर्देशक, राष्ट्रिय प्रकृति संरक्षण कोष –सदस्य
(ज)भक्तपुर जिल्ला सूर्यविनायकनगरपालिका प्रमुख –सदस्य
(झ)मन्त्रालयले तोकेको नेपाल वन सेवाको राजपत्रांङ्कित प्रथम श्रेणीको अधिकृत– सदस्य–सचिव
५.निर्देशन समितिको काम कर्तव्य र अधिकार ः यस निर्देशिकामा अन्यत्र लेखिएका काम, कर्तब्य र अधिकारको अतिरिक्त निर्देशन समितिको काम, कर्तय र अधिकार देहायबमोजिम हुनेछ ः–
(क) राष्ट्रिय प्राणी उद्यानको सञ्चालन र व्यवस्थापनका लागि आवश्यक नीति, रणनीति, गुरुयोजना तथा व्यवस्थापन योजना बनाउने र कार्यान्वयन गर्ने, गराउने,
(ख) देशका विभिन्न स्थानमा प्राणी उद्यान स्थापना गर्नु पर्ने देखिएमा आवश्यकताको पहिचान गरी निर्णयको लागि मन्त्रालयमा सिफारिस गर्ने, र सोको अनुगमन तथा नियमन गर्ने गराउने ।
(ग) राष्ट्रिय प्राणी उद्यानको सञ्चालन एवं व्यवस्थापन गर्न आवश्यक पर्ने प्राविधिक जनशक्ति तथा प्रविधिको विकास र वित्तीय स्रोत जुटाउन पहल गर्ने,
(घ) प्राणी उद्यानको व्यवस्थापन तथा समन्वय गर्न राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा सम्पर्क निकायको रुपमा काम गर्ने,
(ङ) समस्याग्रस्त, घाईते, अपाङ्ग एवं टुहुरा वन्यजन्तुको उद्धार, उपचार, र पुनस्र्थापना गर्न गराउन आवश्यक पर्ने जनशक्ति तथा स्रोतसाधन उपलब्ध गराउने,
(च) संकटापन्न सूचीमा रहेका वन्यजन्तुको परस्थानीयरुपमा पालन, प्रजनन र पुनस्र्थापना गर्ने कार्यका लागि सम्बद्ध निकायसंग समन्वय तथा पहल गर्ने,
(छ) प्राणी उद्यानको मापदण्ड तयार गरी नेपाल सरकारको स्वीकृतिको लागि सिफारिस गर्ने,
(ज) प्राणी उद्यानको प्रवेश दस्तूर तोक्ने निर्णयका लागि नेपाल सरकारमा सिफारिस गर्ने,
(झ) प्राणी उद्यान तथा वन्यजन्तु संरक्षणसंग सम्बन्धित संस्था वा निकायको मापदण्ड निर्धारणका लागि मन्त्रालयमा सिफारिससाथ पेश गर्ने तथा सम्बन्धित संस्था वा निकायलाई निर्देशन दिने,
(ञ) नेपाल सरकारले तोकेका अन्य कार्य गर्ने गराउने ।
६.निर्देशन समितिको बैठकसम्बन्धी कार्यविधि ः(१) निर्देशन समितिको बैठक प्रत्येक चार महिनामा एक पटक बस्नेछ ।
तर आवश्यकता भएमा निर्देशन समितिको बैठक सोभन्दा बढी पटक पनि बस्न सक्नेछ ।
(२) अध्यक्षको निर्देशनमा सदस्य–सचिवले समितिको बैठक बोलाउने छ ।
(३) निर्देशन समितिमा तत्काल कायम रहेका कूल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा निर्देशन समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) निर्देशन समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मतसमेत दिनेछ ।
(५) निर्देशन समितिको बैठकको निर्णय अध्यक्षद्वारा प्रमाणित गरिनेछ ।
(६) निर्देशन समितिको बैठकमा सम्बन्धित पदाधिकारी तथा विशेषज्ञलाई आमन्त्रित सदस्यको रुपमा आमन्त्रण गर्न सकिनेछ ।
(७)निर्देशन समितिको बैठकसम्बन्धी अन्य कार्यविधि निर्देशन समिति आफैंले निर्धारण गरेबमोजिम हुनेछ ।
७.सदस्य सचिवको काम, कर्तव्य र अधिकार ः(१) यस निर्देशिकामा अन्यत्र लेखिएका काम, कर्तब्य र अधिकारका अतिरिक्त सदस्य–सचिवको काम कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ।
(क) सचिवालयको प्रशासकीय प्रमुखको रुपमा काम गर्ने,
(ख) सचिवालयको प्रशासकीय काम कारवाहीलाई व्यवस्थित गर्ने, गराउने,
(ग) वार्षिक वजेट कार्यक्रम तथा योजना तयार गरी स्वीकृतिका लागि निर्देशन समिति समक्ष पेश गर्ने,
(घ) निर्देशन समितिबाट स्वीकृत वार्षिक कार्यक्रम तथा योजना कार्यान्वयन गर्ने गराउने,
(ङ) वार्षिक प्रतिवेदन तयार गरी निर्देशन समिति समक्ष पेश गर्ने,
(च) राष्ट्रिय प्राणी उद्यानको काम कारवाहीसम्बन्धमा अन्य निकायसंग समन्वय गर्ने,
(छ) निर्देशन समितिबाट अधिकार प्रत्यायोजन भएबमोजिमका अन्य कार्य गर्ने,
(ज) निर्देशन समितिबाट भएका निर्णय कार्यान्वयन गर्ने, गराउने,
(झ) निर्देशन समितिले तोकिदिएबमोजिमका अन्य काम गर्ने गराउने ।

८.निर्देशन समितिले निर्धारण गरेको नीति, रणनीति तथा निर्देशन पालना गर्नुपर्ने ः निर्देशन समितिले निर्धारण गरेको नीति, रणनीति तथा निर्देशन पालना गर्नु सम्बद्ध सबै निकायको कर्तव्य हुनेछ ।
९.सचिवालयः(१) निर्देशन समितिको निर्णयबमोजिमको दैनिक प्रशासनिक काम कारबाहीको लागि राष्ट्रिय प्राणी उद्यान केन्द्रले सचिवालयको काम गर्नेछ ।
(२) सचिवालयको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ः–
(क) निर्देशन समितिले सम्पादन गर्ने काम कार्यबाहीमा निर्देशन समितिलाई सहयोग पु¥याउने,
(ख) बैठकको लागि प्रस्ताव तयार गर्ने,
(ग) निर्देशन समितिको निर्णय कार्यान्वयन गर्ने,
(घ) निर्देशन समितिबाट तोकिएबमोजिमका अन्य काम गर्ने ।
१०. केन्द्रको लागि कर्मचारी खटाउन सक्ने ः राष्ट्रिय प्राणी उद्यान केन्द्रको नियमित काम कारवाही सञ्चालन गर्नको लागि मन्त्रालयले नेपाल सरकारका कर्मचारीलाई जिम्मेवारी तोक्न वा काजमा खटाउन सक्नेछ ।
११. केन्द्रको वार्षिक बजेट व्यवस्था ः (१) राष्ट्रिय प्राणी उद्यान केन्द्रको लागि आवश्यक बजेटको व्यवस्था नेपाल सरकारको नियमित बजेटबाट व्यवस्थापन हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि केन्द्रको कार्य सञ्चालनको लागि आवश्यक रकम देहायबमोजिमका स्रोतबाट समेत व्यवस्थापन गर्न सकिनेछ ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) स्वदेशी व्यक्ति, संघ संस्था वा निकायबाट प्राप्त रकम,
(ग) विदेशी सरकार, संघ सस्था वा व्यक्तिबाट प्राप्त रकम,
(घ) अन्य स्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (२) को खण्ड (ग) बमोजिम विदेशी सरकार, संघ सस्था वा व्यक्तिबाट रकम प्राप्त गर्नु अघि अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिमको राष्ट्रिय प्राणी उद्यान केन्द्रको नाममा रहने रकम निर्देशन समितिले तोकेको बैंक तथा वित्तीय संस्थासम्बन्धी प्रचलित कानून बमोजिम वित्तीय कारोबार गर्न स्थापना भएको “क” वर्गको इजाजत प्राप्त कुनै बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(५) केन्द्रको खाताको सञ्चालन सदस्य–सचिव वा निजले तोकेको अधिकृत र लेखा प्रमुखको संयूक्त दस्तखतबाट हुनेछ ।
१२. लेखा र लेखा परीक्षण ः (१) केन्द्रको आयव्ययको लेखा नेपाल सरकारले अपनाएको ढाँचा बमोजिम राखिने छ ।
(२) केन्द्रको लेखा परीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
१३. निर्देशन दिन सक्ने ः मन्त्रालयलेयस निर्देशिकाको कार्यान्वयन गर्न निर्देशन समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ । त्यसरी दिइएको निर्देशन पालना गर्नु निर्देशन समितिको कर्तव्य हुनेछ ।
१४. प्रतिवेदन पेश गर्ने ः (१) निर्देश्न समितिले वर्षभरिमा आफूले सम्पादन गरेका मुख्य मुख्य काम कारवाहीहरु, कार्यान्वयन गरेको योजना तथा कार्यक्रम र सो अनुसार सम्बन्धित सरोकारवाला निकायहरुबाट भएका काम तथा हासिल गरेका उपलब्धीसमेत समावेश भएको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिनाभित्र मन्त्रालय समक्ष पेश गर्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदन निर्देशन समितिको निर्णय अनुसार केन्द्रले सार्वजनिक गर्नेछ ।